अन्तर्राष्ट्रिय समाचारखेलकुदसमाचार

कतारमा काम गर्ने विदेशीले ११ डलरमै विश्वकप फुटबल हेर्न पाउने

बुटवल ५ माघ । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
कोभिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो । बुधबार जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउनेछन् । फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको हो ।

तर फिफाले अन्तर्राष्ट्रिय दर्शकको हकमा हरेक खेलका लागि टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरेको छ । जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।

टिकटका विभिन्न प्याकेजका लागि फेब्रुअरी ८ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । ‘र्‍यानडम ड्र’ बाट छानिएका व्यक्तिलाई मार्च ८ गतेसम्म यसबारे जानकारी गराइने छ ।


आगामी विश्वकप कतारका विभिन्न ८ वटा रंगशालामा हुँदैछ । प्रतियोगिता हेर्न झण्डै १२ लाख मानिस आउनसक्ने अनुमान छ ।
कोभिड परीक्षणसम्बन्धी जानकारी समेटिएको हाया कार्ड नामक विशेष पास देखाएपछि मात्रै दर्शकले रंगशाला प्रवेश गर्न पाउनेछन् । सबै खेलाडी, अफिसियल र फ्यानले कतारी अधिकारीले जारी गरेको यात्रासम्बन्धी सुझाव पालना गर्नुपर्ने समेत फिफाले बताएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button