जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

बुटवल, माघ ५ । कोभिडको संंक्रमणको जोखिम बढन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ।
पछिल्ला केही दिन यता रुपन्देहीमा संक्रमितहरुको संख्या बढदै गएको र कार्यालयमा कार्यरत केही कर्मचारी कोरोनाको संक्रमण देखिएपछि रुपन्देही प्रशासनले सार्वजनिक सुचना जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।
सेवा प्रवाहकै समयमा कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखियो भने केहीमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका छन् त्यसैले अत्यावश्यक सेवा बाहेकका सेवा केही समयका लागि स्थगित गर्नु परेको हो प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने।
प्रमुख जिल्ला अधिकारी तिवारीले बुधबार जारी गरेको सूचनामा प्रशासनले सेवा लिन आउने सेवाग्राहीको भीड अत्यधिक हुँदा संक्रमण थप फैलिने जोखिम बढेकोले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ।
सूचनामा नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता÷नविकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बिहीवारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएपनि शान्ति सुरक्षा, मुद्दा लगायत सेवा भने सुचारु हुने जानकारी दिए।
पछिल्लो समय नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनेहरुको बाक्लो भिड लाग्ने गरेको थियोे।