खेलकुद

नेपालले शुक्रबार अस्ट्रेलियाको सामना गर्दै…

काठमाडौँ : नेपालले एसियाली विश्वकप छनोटमा शुक्रबार बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । यो नेपालको छनोटको दोस्रो चरणको अन्तिम खेल हुनेछ । खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।  त्यस अगाडि बिहीबार आयोजित प्रि–पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन् ।

उनले भने, ‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौं । अहिले त्यसको नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुन्न । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौं ।’ उनले अस्ट्रेलियाविरुद्धको खेल नेपालका लागि सजिलो नहुने पनि माने । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्। 

उनले जुलाईमा युरोप र अफ्रिकी देशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तयारी रहेको पनि खुलाए । प्रशिक्षक अल्मुताइरीले दीर्घकालीन योजनामा अगाडि बढेको दाबी गर्दै थपे, ‘हाम्रो लक्ष्य पक्कै पनि साफ च्याम्पियनसिप नै हो । सेप्टेम्बरमा हुने यस प्रतियोगिताका लागि तयारी हाम्रो मुख्य लक्ष्य हो र हामी यसै अनुसार अगाडि बढिरहेका छौं ।’

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कुरा पनि महत्वपूर्ण हो,’ अस्ट्रेलियाविरुद्धको खेलअघि उनले भने।

‘हामीले अस्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्नेमा आशावादी छु। हाम्रो खेल्ने शैलीमा सुधार आएको छ। हामीले समर्थकलाई खुसी बनाउन सकेका छौं।’

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालले कडा मिहिनेत गरिरहेको र नेपालसँग खेल्न उत्साहित भएको बताए।

‘उनीहरुले फरक शैलीले खेलिरहेका छन्। प्रशिक्षकले राम्रो गरिरेहका छन्। हामी नेपाली टिमलाई सम्मान गर्छौं। नेपाल परिश्रमी टिम हो,’ उनले भने। 

इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button