अरु के छ विशेषप्रदेश ५
Trending

सिद्धबाबा डाँडो कटान

उपप्रधानमन्त्री पौडेल भर्सेस मुख्यमन्त्री पोखरेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट भाषण गरेपछि सिद्धबाबाको चर्चा विगतमा भन्दा अझ बढी हुन थालेको छ । पौडेलले बजेट भाषण गर्नुअघि नै सिद्धबाबामा सुरुङमार्ग बनाउने योजनाका साथ टेण्डर आह्वान गरिसकेको अवस्था हो । आगामी आर्थिक वर्षको बजेटमा सिद्धबाबा सुरुङका लागि रकम विनियोजन गरिएको छ ।

तर, बजेटको बुँदा नम्वर १९९ मार्फत देशको व्यापार घाटा कम गराउन ढुंगा गिटी बालुवा निर्यात गर्ने योजना सरकारले ल्याएपछि यो योजना त विवादास्पद बनेको छ नै, सिद्धबाबा क्षेत्र संरक्षणको दीर्घकालीन योजना समेत विवादास्पद बनेको छ । किनकी, सिद्धबाबा राष्ट्रपति चुरे संरक्षण क्षेत्रभित्र पर्दछ । सरकारी पार्टीका मान्छेहरु नै चुरे दोहनमा सबैभन्दा बढी संलग्न भएको अवस्थामा दुई प्रभावशाली नेताहरुको विपरित धारणा आएपछि सिद्धबाबाको भविष्य के होला भनेर सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लामो समयदेखि सिद्धबाबाको डाँडो कटान गर्नुपर्ने पक्षमा लविङ गर्दै आएका छन् । मुख्यमन्त्रीकै योजनाअनुसार प्रदेश सरकारले यो डाँडो कटान गरेर व्यवस्थित गर्ने र यहाँबाट निस्कने कच्चा पदार्थ भारतसम्म निकासी गर्ने अनि पैसा कमाउने उद्देश्य राखेको छ । प्रदेश सरकारले रूपन्देही र पाल्पाको सिमानामा रहेको सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघीय सरकारलाई पेस समेत गरिसकेको छ ।

डाँडो काट्दा निस्किएको कच्चा पदार्थलाई पहिलो प्राथमिकता स्वदेशभित्रै व्यवस्थापन गर्ने र बढी भएको भारत निर्यात गर्ने प्रस्ताव संघीय सरकारको टेबलमा पुगिसकेको छ । डाँडो कटान गरिसकेपछि त्यहाँ सुन्दर पर्यटकीय पूर्वाधार तयार गरेर बस्ती समेत बसाउने र सिद्धार्थ राजमार्गमा अहिले हुँदै आइरहेको जोखिम न्यूनीकरण गर्ने प्रस्ताव प्रदेश सरकारको रहेको छ । तर अर्थमन्त्री विष्णु पौडेल भने सिद्धबाबा डाँडोबाट एक मुठी माटो पनि निकाल्न नदिने अडानमा छन् । अर्थमन्त्री पौडेल डाँडोको विकल्पमा सुरुङ नै बनाउनुपर्छ भनेर लविङ गर्ने व्यक्तित्व हुन् । तर, प्रदेश मुख्यमन्त्री पोखरेल भने डाँडो काट्ने पक्षका अभियन्ता नै हुन् । १० अर्ब बढी लागतमा १ हजार १ सय मिटर लामो सुरुङ मार्ग बनाउने र डाँडो संरक्षण गर्ने योजना केन्द्र सरकारको योजना हो । तर, प्रदेश सरकारको योजना भने डाँडो काट्ने नै हो ।

Tags
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button